काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार, राजनीतिक दल र सरोकारवाला सबै पक्ष एकढिक्का भएर राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले दलसँग रहेका राहत तथा उद्धारमा दक्ष, जानकार तथा तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरेर प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने बताए।
लामिछानेले राहत तथा उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत कार्ययोजना बनाएर काम गर्नुपर्ने उल्लेख गर्दै कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्नेमा जोड दिए।
उनले विपद्को समयमा पक्ष–विपक्षभन्दा माथि उठेर सरकारलाई सहयोग गर्ने राजनीतिक संस्कार देखिएको भन्दै त्यसका लागि सबै दललाई धन्यवाद दिए। साथै बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री तथा सम्बन्धित निकायका अधिकारीसँग विपद् व्यवस्थापन र उद्धारका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए।
सरकारले आफ्नो सम्पूर्ण क्षमता नागरिकको जीवन रक्षा र उद्धारमा केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति, आवश्यक स्रोतसाधन तथा राहत सामग्री परिचालन गर्न आग्रह गरे।
सभापति लामिछानेले रसुवा, धादिङ, चितवन, नवलपरासीलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सरकारी संयन्त्रको सम्पर्कमा रहन तथा अनावश्यक जोखिम नलिन आग्रह गरे। उनले अपाङ्गता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई उद्धार तथा राहतमा प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए।
उनले विसं २०७२ को भूकम्पका बेला राजनीतिक दलहरूले देखाएको सहकार्यको स्मरण गर्दै विपद्को समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर नागरिकको सेवामा केन्द्रित हुनुपर्ने बताए।
रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा विपद् व्यवस्थापनमा थप जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक परे सबै दलबीच समन्वयका लागि पार्टीले अग्रसरता लिने पनि उनले बताए।
बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै लामिछानेले कठिन परिस्थितिमा संयमित रहन र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज तथा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिएका छन्।














प्रतिक्रिया दिनुहोस्