काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लामो समयदेखि सार्वजनिक हुन नसकेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय पुनः उठेको उल्लेख गर्दै थापाले विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसके पनि त्यसलाई अहिलेको सरकारका लागि ढिलाइ गर्ने बहाना बनाउन नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठ्दै आएको बताए । राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ ।
थापाले भनेका छन्, ‘विगतका सरकारबाट पनि यो काम हुन सकेन । तर, विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन ।’
उनले यसपटक पनि विषयलाई प्रतिबद्धतामै सीमित नगर्न सरकारलाई आग्रह गरेका छन् ।
‘यसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ, अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्,’ थापाले लेखेका छन् ।
घटना भएको एक दशक पुग्न लाग्दासमेत पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको भन्दै उनले प्रतिवेदन सार्वजनिक गर्नु न्यायको प्रक्रियासँग जोडिएको विषय भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्