ललितपुर । गृहमन्त्री सुधन गुरुङले नागरिक सेवा र सहरी व्यवस्थापनका क्षेत्रमा ललितपुर महानगरपालिकाले गर्दै आएको काम प्रशंसनीय र अन्य स्थानीय तहका लागि उदाहरणीय रहेको बताएका छन्।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणसँगै नयाँ प्रविधिको प्रयोगमा समेत अग्रसरता देखाएको बताए।
उनले ललितपुर र भक्तपुर नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यी क्षेत्रमा पुग्दा देशको गौरव महसुस हुने बताए।
महानगरपालिकाले नयाँ सोच र प्रविधिसहित सञ्चालन गरेका कार्यक्रमबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने भन्दै गृहमन्त्री गुरुङले स्थानीय तहमा हुने यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको दाबी गर्दै देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।
महर्जनले स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी गर्दै सहरी सुरक्षालाई प्रविधिमैत्री बनाउन महानगरले काम गरिरहेको बताए।














प्रतिक्रिया दिनुहोस्