काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई संसद्मा थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको छ।
सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको बैठकले रास्वपा संसदीय दलको विधान, २०८३ संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए।
विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई सात दिनभित्र संशोधनसम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।
बैठकपछि पराजुलीले आगामी दिनमा सांसदहरूलाई संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियामा थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था विधानमा समेटिने बताए।
पछिल्लो समय रास्वपाका केही सांसदको संसद्मा प्रस्तुत हुने शैली तथा गतिविधिलाई लिएर प्रश्न उठिरहेका बेला पार्टीले संसदीय दलको विधान नै संशोधन गर्ने निर्णय गरेको हो।
विशेषगरी मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच भएको घटनापछि पार्टीले सांसदहरूको संसदीय आचरण र भूमिकाबारे समीक्षा थालेको थियो।
नयाँ संशोधनमार्फत सांसदहरूको भूमिका, जिम्मेवारी, अनुशासन र संसदीय मर्यादालाई थप स्पष्ट बनाउने तयारी रास्वपाको छ।














प्रतिक्रिया दिनुहोस्