काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अर्यालले लामो समयदेखि सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर नियमावलीअनुसार जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
यो सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई दिएको पहिलो रुलिङ हो। विपक्षी दलका सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका थिए।
सोमबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले सांसदहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।
उनले भने, ‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ।’
प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। उक्त व्यवस्था कार्यान्वयन गर्न पनि प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग सांसदहरूले गर्दै आएका छन्।
सभामुखको रुलिङसँगै अब प्रधानमन्त्री शाह प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने बाटो खुलेको छ।














प्रतिक्रिया दिनुहोस्