images
images

ल्याबको बजेट माग्दा गृहमन्त्री गुरुङको जवाफ– ‘चार महिनामै कायापलट गर्न सक्दिनँ’

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयले चुनावका बेला गरिएको ल्याब निर्माणको प्रतिबद्धता पूरा गर्न माग गरेपछि गृहमन्त्री सुधन गुरुङले चार महिनामै विकासको कायापलट गर्न नसकिने बताएका छन्। उनले आफूले गरेको कामप्रति विश्वास नभए ‘भोट फिर्ता लैजान’ समेत भनेका छन्।

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गुरुङले पूर्वघोषित कार्यक्रमअनुसार शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका स्थानीयसँग भेटघाट गरेका थिए।

आइतबार वडा नम्बर ९ का स्थानीयसँगको भेटमा रास्वपा वडा सचिव खोपेन्द्र लामिछानेले चुनावका क्रममा गुरुङले ल्याबका लागि बजेट छुट्याउने वाचा गरेको स्मरण गराउँदै बजेटमा उक्त योजना नदेखिएको विषयमा प्रश्न गरेका थिए।

जवाफमा गुरुङले चार महिनामै सबै प्रतिबद्धता पूरा गर्न सम्भव नहुने बताए। उनले स्थानीयका मागअनुसार योजनाको सूची संकलन भइरहेको र प्राथमिकताका आधारमा बजेट तथा कार्यक्रम अघि बढाइने बताए।

स्थानीयले चुनावमा आफूले स्पष्ट प्रतिबद्धता गरेको भन्दै त्यसअनुसार काम हुनुपर्ने दबाब दिएपछि गुरुङले भने, ‘चार महिनामा बल्ल पहिलो बजेट हाम्रो आएको छ। चार महिनामा त फेरि कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्।’

उनको उक्त अभिव्यक्तिपछि सहभागीहरू हाँसेका थिए। त्यसपछि एक सहभागीले ‘जिताएर पठाइसकियो, यो कुरा पहिले भन्नुपर्थ्यो’ भन्दै प्रतिक्रिया दिएका थिए।

गुरुङले आफूले जनतासँग स्पष्ट रूपमा काम गर्ने प्रतिबद्धता जनाएको भन्दै पाँच वर्षको अवधिलाई हेर्न आग्रह गरे। उनले आफूलाई विश्वास गर्न नसके नजिताउनुपर्ने पनि बताएका थिए।

‘मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने मलाई नजिताउनुस्। मलाई पाँच वर्ष हेर्नुस्,’ गुरुङले भने।

स्थानीयसँगको भेटमा ल्याबसहित अन्य विकास निर्माणका विषयमा समेत छलफल भएको थियो। गृहमन्त्री गुरुङको ‘भोट लिएर जानुस्’ भन्ने अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ।

प्रतिक्रिया दिनुहोस्