काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय सम्मेलनले पाँच बुँदे प्रस्ताव पारित गरेको छ।
दुई दिनसम्म चलेको सम्मेलनले १५औँ महाधिवेशन देउवाकै सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा सम्मेलनका संयोजक डा. शशांक कोइरालाले समन्वय गर्ने प्रस्ताव पनि पारित भएको छ।
सम्मेलनले राष्ट्रिय संकटको अवस्थामा लोकतान्त्रिक तथा राष्ट्रिय शक्तिसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्र सुदृढीकरणमा सक्रिय रहने निर्णय गरेको छ।
यस्तै, नेपालको सनातन धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रताको संरक्षणमा जोड दिइएको छ।
त्यसैगरी, जनअपेक्षाअनुसार संविधान संशोधनका लागि संविधानमा व्यवस्था भएबमोजिम सम्बन्धित पक्षसँग संवाद अघि बढाउने प्रस्ताव पनि पारित गरिएको छ।
सम्मेलनमा प्रस्तुत सुझाव र प्रस्तावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।














प्रतिक्रिया दिनुहोस्