images
images

भारतीय प्रधानसेनापति सेठ आज नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार अपराह्न काठमाडौं आउँदै छन्।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठ र नेपाली सेनाका प्रधानसेनापति सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्तासमेत हुने भएको छ। वार्तामा दुई देशबीचको सैन्य सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो।

यस परम्परालाई नेपाल–भारतबीचको ऐतिहासिक सैन्य सम्बन्ध, मैत्री र पारस्परिक सम्मानको प्रतीकका रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्