काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी प्रक्रियाबाट आफू विचलित नहुने बताएका छन् ।
पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले काठमाडौंस्थित आफ्नो निवास चुनदेवीमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै आफूले ५० वर्ष लामो राजनीतिक यात्रामा भ्रष्टाचार नगरेको दाबी गरे ।
आफूविरुद्ध परेका उजुरी तथा छानबिनबाट नडराउने बताउँदै देउवाले आवश्यक परे पटक–पटक अदालतमा उपस्थित हुन तयार रहेको बताए । उनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँसमेत तलमाथि नगरेको दाबी गरे ।
सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्रको प्रसंगसमेत उठाउँदै गणतन्त्र र लोकतन्त्रलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे । उनले भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् र यहाँ?’
गणतन्त्र आफूले चाहेर मात्र आएको नभई जनताले निर्वाचित संविधानसभाबाट स्थापित भएको देउवाको भनाइ थियो । उनले देशका जनता नै सार्वभौम शक्ति भएकाले जनताको चाहनाविपरीत कुनै व्यवस्था परिवर्तन हुन नसक्ने बताए।














प्रतिक्रिया दिनुहोस्