images
images

सरकारी निवेदनको ढाँचा देशभर एउटै बनाइँदै, डिजिटल प्रणालीमा लैजाने तयारी

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचामा अब देशभर एकरूपता ल्याइने भएको छ।

सेवा प्रवाहलाई सरल, सहज र सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरेको हो।

नयाँ मार्गदर्शन कार्यान्वयनमा आएपछि सरकारी कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने बाध्यता हट्नेछ। सेवाग्राहीले सरकारी सेवा लिन आवश्यक निवेदन एउटै निश्चित ढाँचामा पेस गर्न सक्नेछन्।

सरकारले कागजमा आधारित निवेदन प्रणालीलाई क्रमशः डिजिटल माध्यममा समेत विस्तार गर्ने तयारी गरेको छ। यसले आगामी दिनमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन सहज हुने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाले निवेदन लेख्न र पेस गर्न लाग्ने झन्झट घटाउनुका साथै सरकारी कार्यालय परिसरमा शुल्क लिएर अनधिकृत रूपमा निवेदन लेखिदिने तथा सेवा सहजीकरण गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने सरकारको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्