काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा पुनरागमन गरेका सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
सन्दीपले मंगलबार सामाजिक सञ्जालमार्फत रोहितले टोलीका लागि गरेको योगदान र नेतृत्वको खुलेर प्रशंसा गरेका हुन् ।
उनले रोहितले कठिन परिस्थितिमा समेत टोलीलाई नेतृत्व गर्दै नेपाली क्रिकेटलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै, आगामी दिनमा पनि रोहितले राष्ट्रिय टोली र देशका लागि अझ धेरै योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन्दीपले लेखेका छन्, ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तपाईंले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्नुभयो, त्यसका लागि । टोलीप्रतिको तपाईंको योगदान, प्रतिबद्धता र उपस्थितिको सधैँ कदर हुनेछ ।’
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितलाई एकदिवसीय टोलीको कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो । कप्तानी परिवर्तनबारे रोहितले भने अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
सन्दीप निलम्बनमा परेका बेला रोहितले नेपाली टोलीको नेतृत्व सम्हालेका थिए । रोहितको कप्तानीमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमा समेत रोहितको नेतृत्वको प्रशंसा भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्