images
images

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीचको एकताले राष्ट्रिय अखण्डतालाई थप बलियो बनाउने बताएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताए।

उनले आदिवासी जनजातिको विशिष्ट पहिचान, भाषा, संस्कृति, परम्परागत ज्ञान र सीप नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गरे। राज्यका नीति निर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व रहेको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत रहेको उल्लेख गर्दै शिक्षा र अवसरमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

नेपाल आदिवासी अधिकारको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत अग्रणी रहेको उल्लेख गर्दै उनले नेपाल दक्षिण एसियामै पहिलोपटक आईएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने राष्ट्र भएको बताए।

तराई–मधेससहित सबै क्षेत्र र समुदायको न्याय तथा अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने राष्ट्रपति पौडेलले बताए। विगतका द्वन्द्व र असन्तुष्टिलाई लोकतान्त्रिक संवाद तथा संवैधानिक प्रक्रियाबाट समाधान गर्दै सामाजिक सद्भाव र एकता कायम गर्नुपर्ने उनको भनाइ थियो।

उनले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गर्दै आर्थिक सशक्तीकरण गर्नुपर्ने बताए। आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन ‘ओपन एयर लिभिङ म्युजियम’ जस्ता अवधारणा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्