काठमाडौं । पछिल्ला केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव विस्तारै कम हुन थालेको छ। भारतबाट ग्यासको आयात बढ्नुका साथै वितरण प्रणालीलाई व्यवस्थित बनाइएपछि बजारमा आपूर्ति सहज बन्दै गएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार गत असार ३१ गतेदेखि १४.२ किलोको पूर्ण सिलिन्डर बिक्री सुरु गरिएपछि एक्कासि माग बढ्दा बजारमा अभाव देखिएको थियो। यसअघि निगमले पश्चिम एसियाको परिस्थितिलाई ध्यानमा राख्दै ७.१ किलोको आधा सिलिन्डर बिक्री गर्दै आएको थियो।
निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले अहिले भारतबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको जानकारी दिँदै बढीमा एक साताभित्र बजारमा आपूर्ति सामान्य हुने बताए।
पछिल्लो २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको छ। यही गतिमा आयात भए चालु साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। गत वर्षको साउनमा भने ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो।
ग्यास उद्योग संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पनि पछिल्लो समय आयात बढेकाले बजारमा आपूर्ति सहज हुँदै गएको बताए। उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरेका छन्।
यसैबीच, सरकारले आगामी चाडपर्वमा ग्यासको अभाव हुन नदिन आयातको कोटा बढाउन भारतसँग पहल गरिरहेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवसहितको टोलीले ग्यास उद्योग तथा बिक्री केन्द्रको अनुगमनलाई समेत तीव्रता दिएको छ।
उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न गठन गरिएको ‘क्विक रेस्पोन्स टिम’ले हालसम्म ग्यास नपाएको भन्दै आएका ५०० भन्दा बढी गुनासो सम्बोधन गरिसकेको निगमले जनाएको छ। बजार अनुगमनका क्रममा भने कृत्रिम अभाव वा कालोबजारी गरेको नपाइएको निगमको दाबी छ।
प्रतिक्रिया दिनुहोस्