images
images

तीजको मौलिकता बोकेको ‘तीन बहिनी’ सार्वजनिक

टोकियो, जापान । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज केन्द्रित नयाँ गीत सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा दिदीबहिनीको आत्मीयता, माइतीप्रतिको प्रेम र नेपाली पारिवारिक सम्बन्धको भावनात्मक कथा बोकेको तीज गीत ‘तीन बहिनी’ सार्वजनिक भएको छ।

जापानमा केही समयअघि सम्पन्न प्रथम लोकतारा प्रतियोगिताका प्रमुख तीन प्रतियोगीको स्वर तथा लोकप्रिय गायक–संगीतकार रामकृष्ण बम मल्ल र चर्चित सर्जक रमेश बीजीको सिर्जनात्मक सहकार्यमा गीत तयार भएको हो। गीतले तीजको मौलिक भावनालाई आधुनिक नेपाली समाजको परिवेशसँग जोडेर प्रस्तुत गरेको छ।

‘तीन बहिनी’मा विवाहपछि फरक–फरक घरपरिवारमा व्यस्त बनेका दिदीबहिनी तीजको अवसरमा माइतीघरमा भेला हुँदाको खुसी, बाल्यकालका सम्झना र पारिवारिक आत्मीयतालाई कथाको केन्द्रमा राखिएको छ। वर्षभरि आ–आफ्नो जिम्मेवारीमा व्यस्त रहने चेलीहरू तीजमा माइती पुग्दा परिवारमा आउने खुसीलाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ।

गीतले तीजलाई केवल मनोरञ्जन र नाचगानको पर्वका रूपमा मात्रै चित्रण गरेको छैन। विवाहित चेलीहरू माइतीघरमा भेला भएर आफ्ना सुख–दुःख साट्ने, पुराना सम्झना ताजा गर्ने र परिवारसँग आत्मीय समय बिताउने नेपाली परम्परालाई गीतको मुख्य भाव बनाइएको छ।

पछिल्लो समय नेपाली परिवारको जीवनशैलीमा आएको परिवर्तनलाई समेत गीतको भिडियोमा समेटिएको छ। कोही विदेशमा रहेका र कोही गाउँघरमै आफ्नो परिवार तथा दैनिक काममा व्यस्त रहेका पात्रलाई प्रविधिमार्फत जोडिएको देखाइएको छ। भौगोलिक दूरी र व्यस्तताका बाबजुद माइतीघर तथा बाल्यकालका सम्झना मनबाट कहिल्यै टाढा नहुने सन्देश गीतले दिन खोजेको छ।

गीतमा तनुजा शाही, आरती परियार, पार्वती आचार्य र रामकृष्ण बम मल्लको स्वर रहेको छ। रमेश बीजीले शब्द रचना गरेका छन् भने रामकृष्ण बम मल्लले संगीत दिएका छन्। गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन विष्णु शर्माले गरेका हुन्।

मौलिक तीज संस्कृतिको भावलाई जोगाउँदै बदलिँदो नेपाली समाज, पारिवारिक सम्बन्ध र चेली–माइतीबीचको आत्मीयतालाई समेट्नु ‘तीन बहिनी’को मुख्य विशेषता हो। गीतले तीजको सांस्कृतिक पक्षसँगै परिवार, प्रेम, सम्झना र पुनर्मिलनको भावलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्