टोकियो, जापान । बागलुङ नगरपालिका–१३, पैयुँपाटा (थाराहार) निवासी खगराज रिजालका २६ वर्षीय छोरा किरण रिजालको उपचारका लागि बलेवा सेवा समाज जापानले सञ्चालन गरेको सहयोग अभियानबाट २ लाख ८३ हजार १०० रुपैयाँ संकलन भएको छ।
टाउकोसम्बन्धी गम्भीर स्वास्थ्य समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरो सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत किरणको विभिन्न चरणमा शल्यक्रिया गर्नुपर्ने भएपछि परिवारमाथि ठूलो आर्थिक भार परेको थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भएपछि समाजले मानवीय सेवाको भावनासहित सहयोग अभियान सञ्चालन गरेको हो।
अभियानमा बलेवा सेवा समाज जापानका पदाधिकारी, संरक्षक, सल्लाहकार, सदस्य तथा जापानमा रहेका नेपाली शुभेच्छुकहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए। समाजका अनुसार अभियानमा ७४ जना व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भएको छ।
सहयोग अभियानबाट संकलित रकम समाजका सल्लाहकार विकास खत्रीमार्फत काठमाडौंमा बिरामीका परिवारलाई हस्तान्तरण गरिएको छ। अभियानको संयोजन समाजका सल्लाहकार शेषकान्त रिजालले गरेका थिए।
समाजले मानवीय सेवाका लागि सञ्चालन गरेको अभियानमा बलेवा सेवा समाज जापान स्वयंले १० हजार येनसहित विभिन्न व्यक्तिले १ हजारदेखि १५ हजार येनसम्म सहयोग गरेका छन्। अभियानमा DIPWAY FOUNDATION (दीपक सुबेदी) बाट ११ हजार येन, प्रकाश रेग्मीबाट १५ हजार येन, शेषकान्त रिजालबाट १० हजार येन, बलराम भट्टबाट १० हजार येनलगायत सहयोग प्राप्त भएको थियो।
बलेवा सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र ‘प्रेम’ पौडेलले अभियान सफल बनाउन आर्थिक, नैतिक तथा मानवीय सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले किरण रिजालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि आवश्यकतामा परेका व्यक्तिको सहयोगका लागि यस्ता मानवीय तथा सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्