images
images

संसदमा कालो चश्मा निषेध भएपछि तनावमा प्रधानमन्त्री बालेन शाह

काठमाडौं । संघीय संसदमा अब कालो चश्मा लगाएर प्रवेश गर्न नपाइने नयाँ व्यवस्था लागू गर्ने तयारी भएपछि प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

सभामुख डोलप्रसाद अर्यालले संसदलाई थप मर्यादित र अनुशासित बनाउन सांसद तथा मन्त्रीहरूका लागि ड्रेस कोड लागू गर्ने निर्णय गरेका छन्। नयाँ व्यवस्थाअनुसार कालो चश्मा लगाएर बैठकमा प्रवेश गर्न पाइने छैन। अनिवार्य अवस्थाबाहेक चिकित्सकको सिफारिस भए मात्र कालो चश्मा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा विपक्षी दलका प्रतिनिधिले प्रधानमन्त्री शाह प्रायः कालो चश्मा लगाएर संसदमा आउने गरेको उल्लेख गर्दै नयाँ नियम उनीमाथि कसरी लागू हुन्छ भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले प्रधानमन्त्रीबाट समेत नियमको पालना गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

सभामुख अर्यालले नयाँ संसद भवनमा बैठक सुरु भएपछि नियम कडाइका साथ कार्यान्वयन हुने स्पष्ट पार्दै कालो चश्मा, लोगोविहीन पोशाक वा ड्रेस कोड उल्लंघन गरेर आउने सांसदलाई प्रवेश नदिइने चेतावनी दिएका छन्। साथै, बैठक चलिरहेका बेला अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि सांसदहरूलाई निर्देशन दिइएको छ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री शाहसहित केही मन्त्री र सांसदहरू नियमित रूपमा कालो चश्मा लगाएर संसदमा उपस्थित हुने गरेका छन्। अब नयाँ व्यवस्थासँगै उनीहरूले पनि तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ।

संसद सचिवालयको रेकर्डअनुसार प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल तथा सांसदहरू ज्ञानबहादुर शाही, राजेन्द्र राई, सुनील केसी र खगेन्द्र सुनारलगायत थुप्रै सांसदहरू यसअघि संसद बैठकमा कालो चश्मा लगाएर उपस्थित हुने गरेका छन्। कतिपय मन्त्रीहरू संसदको लोगोसमेत नलगाई बैठकमा सहभागी हुने गरेको उदाहरण रहेको सचिवालयको अभिलेखमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्