images
images

‘पान बाला भैया’को सफलतासँगै चर्चामा निर्देशक प्रकाश भट्ट

७ हजारभन्दा बढी गीतका सफल निर्देशक प्रकाश भट्ट यस वर्षको तीजमा पनि सर्वाधिक व्यस्त निर्देशकका रूपमा देखिएका छन्। करिब २५ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहेका भट्टले अहिलेसम्म ७ हजारभन्दा बढी गीत तथा म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। अनुभव, सिर्जनशीलता र मेहनतका कारण उनी नेपाली म्युजिक भिडियो निर्देशनको क्षेत्रमा स्थापित नामका रूपमा परिचित छन्।

यस वर्षको तीजलाई लक्षित गर्दै सार्वजनिक भएका गीतहरूमध्ये अधिकांश चर्चित गीतमा पनि प्रकाश भट्टकै निर्देशन देख्न सकिन्छ। तीजको सिजनमा मात्रै उनले दुई दर्जनभन्दा बढी गीत निर्देशन गरेका छन्, जसले उनलाई सबैभन्दा व्यस्त निर्देशकको सूचीमा अग्रस्थानमा छन।

हालै सार्वजनिक भएको ‘पान बाला भैया’ गीतले छोटो समयमै दर्शक–श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ। गीतको कथा, दृश्य संयोजन, लोकेसनको छनोट तथा प्रस्तुतीकरणले दर्शकको ध्यान तानेको छ। गीतको सफलतामा निर्देशक भट्टको कलात्मक निर्देशनलाई पनि महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

प्रकाश भट्टले लामो समयदेखि नेपाली लोक, दोहोरी, तीज, आधुनिक तथा विभिन्न सांगीतिक विधाका हजारौं म्युजिक भिडियो निर्देशन गर्दै आएका छन्। नयाँ कलाकारलाई अवसर दिने र गीतको भावअनुसार दृश्य निर्माण गर्ने उनको शैलीलाई दर्शक तथा संगीतकर्मीले रुचाउँदै आएका छन्।

सांगीतिक बजारमा प्रतिस्पर्धा बढिरहेका बेला पनि भट्टका निर्देशनमा तयार भएका अधिकांश गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेका छन्। यही कारण हरेक वर्ष तीजको सिजन सुरु भएसँगै धेरै सर्जक र गायक–गायिकाको पहिलो रोजाइमा निर्देशक प्रकाश भट्ट पर्ने गरेका छन्।

यस वर्ष पनि उनले निर्देशन गरेका दुई दर्जनभन्दा बढी तीज गीत सार्वजनिक हुने क्रम जारी छ। निरन्तर सिर्जनशीलता, व्यावसायिक अनुभव र गुणस्तरीय प्रस्तुतीकरणका कारण प्रकाश भट्ट नेपाली सांगीतिक क्षेत्रका सबैभन्दा विश्वासिला तथा सफल निर्देशकमध्ये एकका रूपमा स्थापित हुँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस्