images
images

यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार असफल भए त्यसको असर सिंगो राष्ट्रमा पर्ने खतरा रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दाहालले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै आफ्ना गतिविधि सच्याएर सहकार्यका साथ अघि बढ्न सुझाव दिए।

‘यो मेरो चिन्ता मात्रै हो, निष्कर्ष र आरोप होइन,’ दाहालले भने, ‘यो सरकार पनि असफल भयो, शान्ति–सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकेन र सुशासन कायम गर्न सकेन भने नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना हुने त होइन भन्ने चिन्ता छ।’

उनले सरकार असफल भए सरकार मात्रै नभई नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको बताए।

दाहालले सरकार गठन भएयता सकारात्मकभन्दा नकारात्मक गतिविधि बढी देखिएको टिप्पणी गर्दै सुकुम्बासी, ट्रेड युनियन, विद्यार्थी संगठन र भौगोलिक सीमासम्बन्धी अभिव्यक्तिले सरकारप्रति सकारात्मक धारणा बन्न नसकेको बताए। लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च र राजस्व संकलनका विषयमा सरकारका कदमले समेत जनतामा चिन्ता बढाएको उनको भनाइ थियो।

संविधान संशोधनका विषयमा गम्भीर भएर अघि बढ्न सरकारलाई सुझाव दिँदै उनले संविधान लोकतन्त्रलाई थप सुदृढ बनाउने उद्देश्यले संशोधन हुनुपर्ने बताए।

दाहालले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र जनताको सार्वभौमसत्ता सुदृढ गर्न सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाहका केही अभिव्यक्तिले असहज अवस्था सिर्जना गरेको भए संसद्मा आएर स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘तपाईं संसद्मा आएर स्पष्टीकरण दिँदा तपाईं सानो हुने होइन, बरु तपाईंको कद अझ माथि जान सक्छ,’ दाहालले भने।

प्रतिक्रिया दिनुहोस्