images
images

सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले यही साउन १० गते सुनसरीमा भएको घटनासहित देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरेको हो।

परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा काम गर्ने निर्णय भएको छ।

बैठकमा विपद्का समयमा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

बैठकमा सहभागी परराष्ट्रमन्त्री शिशिर खनालले राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको जानकारी गराइएको बताए। उनले उक्त अवस्थालाई दिगो बनाउन स्थानीय तहमा संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा बैठकले जोड दिएको बताए।

यसप्रकारका घटना दोहोरिन नदिन आवश्यक संवादलाई तीव्र बनाउने तथा सम्भावित संकट र भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि, आवश्यक स्रोत–साधनको व्यवस्थापन र तालिमलाई थप सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको मन्त्री खनालले जानकारी दिए।

बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा प्रधानसेनापतिलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्