काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गत निर्वाचनमा जनताले दिएको मतको सरकारले सम्मान गर्न नसकेको आरोप लगाए।
‘देशको अवस्था ठीक छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ, निर्वाचनमा जसरी जनताले अभिमत प्रकट गरे, सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ प्रचण्डले भने, ‘दिनदिनै असहज बनाएको छ, चिन्ता बढाएको छ।’
उनले सरकारको कामकारबाहीप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गरे। जनताले अपेक्षा गरेअनुसार सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
यसैबीच, प्रचण्डले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन्। बोलबम यात्राका क्रममा उत्पन्न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।
गम्भीर घटनाप्रति प्रधानमन्त्री र गृहमन्त्रीले पर्याप्त संवेदनशीलता नदेखाएको आरोप लगाउँदै प्रचण्डले प्रतिनिधिसभामै सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस्