काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सल्लाहकारको संख्या धेरै भएको भन्दै आलोचना भइरहेका बेला फेरि एक जना सल्लाहकार नियुक्त गरेका छन्। मन्त्री श्रेष्ठले चितवनका विवेक राज कँडेललाई ऊर्जा व्यापार तथा पूर्वाधारतर्फ विशिष्ट श्रेणीको सल्लाहकार नियुक्त गरेका हुन्।
कँडेलले सल्लाहकारको जिम्मेवारी सम्हाल्दै नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माणमा परामर्श दिने बताइएको छ। उनले आन्तरिक ऊर्जा क्षेत्रको सुधार, निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीति निर्माण तथा ऊर्जा व्यापार विस्तारमा समेत भूमिका खेल्नेछन्।
त्यस्तै, बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत कँडेलले योगदान पुर्याउने बताइएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कँडेलले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) गरेका छन्। उनले नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन्।
कँडेलसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव रहेको बताइएको छ।
कँडेलको नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार टोली २१ सदस्यीय पुगेको छ। सल्लाहकारको संख्या ठूलो भएको भन्दै आलोचना भइरहेका बेला थप नियुक्ति गरिएको भन्दै मन्त्रालयको निर्णयमाथि प्रश्न उठ्न थालेको छ।










प्रतिक्रिया दिनुहोस्