काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै परिवार र नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न रोक लगाएको छ।
पार्टीले स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन भन्दै नयाँ मापदण्ड लागू गरेको हो। निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।
निर्देशनअनुसार सांसदले आफ्नै घरपरिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। स्वकीय सचिवका रूपमा परिवारभन्दा बाहिरका योग्य र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वकीय सचिव बन्न संघीय संसद् सचिवालयले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। साथै स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री तथा अनुसन्धान क्षमता भएको व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
त्यस्तै, पार्टीका मूल्य–मान्यता र उद्देश्यप्रति प्रतिबद्ध व्यक्तिलाई स्वकीय सचिव नियुक्तिमा प्राथमिकता दिन भनिएको छ। योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका व्यक्तिलाई समेत प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिइएको रास्वपाले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्