काठमाडौँ । नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर समीक्षा आर्थिक वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत् निर्यातबाट भएको आम्दानीमा उल्लेख्य वृद्धि हो।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारत र बंगलादेशतर्फ २ अर्ब ३८ करोड २९ लाख युनिट (किलोवाट आवर) विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो।
समीक्षा आर्थिक वर्षमा भने विद्युत् निर्यातको परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत नेपालले औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरेको प्राधिकरणले जनाएको छ।
विद्युत् निर्यातमा वृद्धि भइरहँदा समीक्षा वर्षमा नेपालले बाह्य स्रोतबाट गर्ने विद्युत् आयातसमेत उल्लेख्य रूपमा घटाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो।
तर समीक्षा आर्थिक वर्षमा विद्युत् आयातको परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयातको परिमाण घटेसँगै विद्युत् आयातमा हुने खर्चसमेत घटेको छ। समीक्षा वर्षमा विद्युत् आयातका लागि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।
निर्यात आम्दानी बढ्नु र आयात खर्च घट्नुका कारण नेपालको विद्युत् व्यापारमा खुद बचतसमेत उल्लेख्य रूपमा बढेको छ। समीक्षा आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् व्यापारबाट नेपालले ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र खुद बचत गरेको थियो। समीक्षा वर्षमा यस्तो बचत ३१३ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ।
विद्युत् उत्पादन क्षमता विस्तारसँगै भारत र बंगलादेशमा निर्यात बढ्दै जानु तथा स्वदेशमै विद्युत् उत्पादन वृद्धि हुँदा आयात घट्नुले नेपालको विद्युत् व्यापारमा सकारात्मक परिवर्तन देखिएको छ। यसले आगामी दिनमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन बढाउने र ऊर्जा क्षेत्रमा नेपालको व्यापार घाटा कम गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्