नयाँदिल्ली । भारतमा योग्यता तथा प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट (पेपर लिक) को विरोधमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थी र युवाको भविष्यलाई प्राथमिकतामा राख्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
‘कक्रोज जनता पार्टी’ (सीजेपी) ले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलन सुरु गरेपछि प्रधानमन्त्री मोदीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन्।
मोदीले युवाको कल्याण र भविष्यभन्दा महत्वपूर्ण कुरा अरू केही हुन नसक्ने उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई कुनै पनि हालतमा छुट नदिने बताएका छन्।
‘हाम्रा युवाको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन,’ मोदीले लेखेका छन्।
उनले पेपर लिकसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट–ट्र्याक अदालत गठन गर्ने घोषणा पनि गरेका छन्। मोदीका अनुसार प्रश्नपत्र चुहावटमा संलग्न दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडा सजाय दिलाउन आवश्यक प्रक्रिया अघि बढाइनेछ।
भारतमा पछिल्लो समय विभिन्न योग्यता, प्रतियोगी तथा प्रवेश परीक्षामा प्रश्नपत्र चुहावटका घटना सार्वजनिक भएपछि विद्यार्थी तथा युवाहरू आन्दोलित हुँदै आएका छन्। विशेषगरी मेडिकल प्रवेश परीक्षा (नीट) लगायतका परीक्षामा प्रश्नपत्र चुहावटको विषयलाई लिएर सरकारमाथि दबाब बढेको छ।
प्रश्नपत्र चुहावटले मेहनत गरेर परीक्षा दिने विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पार्ने भन्दै आन्दोलनकारीले शिक्षा प्रणालीमा सुधार, निष्पक्ष परीक्षा प्रणाली र दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।
प्रधानमन्त्री मोदीले विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको बताउँदै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएका छन्। उनले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका छन्।










प्रतिक्रिया दिनुहोस्