नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मेडिकल प्रवेश परीक्षा (NEET) मा कथित अनियमितता र प्रश्नपत्र चुहावटको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किँदै गएको छ। आन्दोलनले मंगलबार राजनीतिक मोड लिएपछि विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादवसहितका नेताहरू विद्यार्थीको समर्थनमा सडकमा उत्रिएका छन्।
भारतको प्रतिष्ठित मेडिकल प्रवेश परीक्षा NEET को प्रश्नपत्र पहिले नै बाहिरिएको आरोपपछि झन्डै २० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थी तथा अभिभावकले विरोध गर्दै आएका छन्। परीक्षा प्रणालीमा देखिएको अनियमितता र अनलाइन नम्बरसम्बन्धी विवादले विद्यार्थी तथा अभिभावकको आक्रोश थप बढाएको आन्दोलनकारीको भनाइ छ।
यसैबीच, सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक आन्दोलनका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले पनि आन्दोलनलाई थप संगठित बनाएको छ। अभिजित दीपकेले गत मे महिनामा सुरु गरेको उक्त अभियानले छोटो समयमै ठूलो संख्यामा अनुयायी बनाएको र सीजेपीकै आह्वानमा दिल्लीमा ‘संसद् मार्च’ आयोजना गरिएको थियो।

शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २१ दिनदेखि अनशनमा बसेका शिक्षाविद् सोनम वाङ्चुकलाई प्रहरीले बलपूर्वक अस्पताल पुर्याएपछि विद्यार्थी आन्दोलन थप चर्किएको हो। विद्यार्थी र युवाहरूले शिक्षा प्रणालीमा सुधार, परीक्षा प्रक्रियामा पारदर्शिता तथा अनियमिततामाथि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
मंगलबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर धर्ना दिने क्रममा राहुल गान्धीसहितका विपक्षी नेताहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको थियो। उनीहरूलाई छत्रसाल स्टेडियममा लगिएको र केही घण्टापछि रिहा गरिएको बताइएको छ।
सोमबार र मंगलबार भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको छ। प्रहरीले प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास प्रयोग गरिएको जनाएको छ। घटनामा ६० जना सर्वसाधारण र ११८ जना प्रहरी कर्मचारी गरी १७८ जना घाइते भएको बताइएको छ।
हिरासतबाटै सार्वजनिक गरिएको एक भिडियोमार्फत राहुल गान्धीले सरकारसमक्ष पाँचवटा मुख्य माग अघि सारेका छन्। उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधान र गृहमन्त्री अमित शाहको राजीनामा माग गरेका छन्। साथै शिक्षा प्रणालीमा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन, विद्यार्थीमाथि लगाइएका मुद्दा फिर्ता तथा कुटपिटमा संलग्नमाथि कारबाही, शिक्षा महँगो हुनुको कारणबारे संसद्मा बहस र विद्यार्थीहरूसँग सरकारले क्षमायाचना गर्नुपर्ने माग गरेका छन्।
यता, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले सरकार शिक्षा क्षेत्रमा सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्। तर उनले राहुल गान्धी र कांग्रेसले संसद्को मनसुन सत्रमा अवरोध सिर्जना गर्न विद्यार्थीहरूलाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। प्रधानले ‘कक्रोच जनता पार्टी’लाई समेत ‘उच्छृङ्खल तत्वहरूको बी–टीम’को संज्ञा दिएका छन्।

भारतमा यो आन्दोलनले बिस्तारै व्यापक जनसमर्थनसमेत बटुल्दै गएको छ। विद्यार्थी र युवाहरूबाट सुरु भएको आन्दोलनमा अभिभावक, शिक्षक, पेशाकर्मी तथा अन्य नागरिकसमेत ऐक्यबद्धता जनाउँदै सडकमा उत्रिन थालेका छन्। आन्दोलन दिल्लीबाहिरका शहरहरूमा समेत फैलिँदै गएपछि यसले शिक्षा र परीक्षा प्रणालीको मुद्दालाई राष्ट्रिय बहसको विषय बनाएको छ।
विद्यार्थी आन्दोलनप्रति बलिउडका चर्चित कलाकारहरूले समेत समर्थन जनाएका छन्। सामाजिक सञ्जालमार्फत विभिन्न कलाकारहरूले विद्यार्थीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा प्रणालीमा सुधार र परीक्षामा पारदर्शिता कायम गर्न सरकारसँग आग्रह गरेका छन्।दिलजीत दोसाँझ, ऋतिक रोशन, सोनाक्षी सिन्हा, शबाना आजमी, दिया मिर्जा र नसिरुद्दिन शाहलगायत चर्चित कलाकारहरूले विद्यार्थीहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्।”
यसैगरी, बलिउड अभिनेत्री प्रीति जिन्टाले जन्तर–मन्तरमा भइरहेको प्रदर्शनमा ‘गैरसंवैधानिक तत्व’हरूले फाइदा उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन्। उनले सरकारलाई सोनम वाङ्चुक र विद्यार्थी संगठनसँग अर्थपूर्ण संवाद गर्न आग्रह गर्दै विद्यार्थी र वाङ्चुकको संघर्षप्रति “हृदयदेखि अटुट समर्थन” रहेको बताएकी छन्। दिल्लीबाहेक मुम्बई र बेङ्गलुरुलगायतका शहरमा समेत प्रदर्शन भइरहेको बताइएको छ।
विद्यार्थी आन्दोलन विस्तार हुँदै जाँदा यसले भारतको परीक्षा प्रणालीप्रतिको विश्वासमाथि समेत प्रश्न उठाएको छ। डिजिटल प्लेटफर्मबाट सुरु भएको असन्तुष्टि सडक आन्दोलनमा परिणत हुँदै जाँदा ‘जेन जी’ पुस्ताका युवाहरूको राजनीतिक सक्रियता र प्रभावलाई समेत यस आन्दोलनले नयाँ बहसमा ल्याएको छ।











प्रतिक्रिया दिनुहोस्