काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यंग्य गर्दै राजनीतिक नेतृत्वमा संयम र दूरदृष्टिको आवश्यकता रहेको बताएका छन्।
बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा सहभागी हुँदै ५ किलोमिटर दौडेपछि थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति कटाक्ष गरेका हुन्।
थापाले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त, दृढ संकल्पित र रत्तिभर विचलित नभई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेसले बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भअनुसार पुनर्जीवित गर्ने बताए।
जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले कांग्रेसले विज्ञहरूसँग छलफल सुरु गरेको जानकारी दिँदै थापाले छलफलबाट प्राप्त सुझावलाई पार्टीको नीति निर्माणमा समेटिने प्रतिबद्धता जनाए।
कार्यक्रममा थापाले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको र कोषमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको जानकारी दिए। उक्त रकम तत्कालका लागि विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला तथा शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिने उनले बताए।
थापाले ‘ग्रिन रन’लाई केवल जनचेतनामूलक कार्यक्रमका रूपमा मात्र नलिई नयाँ सामाजिक अभियानको सुरुआतका रूपमा लिनुपर्ने बताए। उनले कांग्रेसले देशव्यापी नयाँ अभियानसमेत बिहीबार सार्वजनिक गर्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्