images
images

प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति पनि जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू नेपाली जनता, राजनीतिक दल र सम्बन्धित पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेको बताएका हुन्।

‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको दाबी गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिइएको बताए। राज्य सञ्चालनमा इमान्दारिता र जवाफदेहितालाई कडाइका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले विगतका विकृति र विसंगतिलाई सुधार गर्दै सरकार अघि बढ्नुपर्ने बताए। साथै, कर्मचारीतन्त्रको क्षमता र कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्ने नीति सरकारले लिएको पनि जानकारी दिए।

‘पुराना विकृति र विसंगतिलाई छोड्दै जाने हो। सामर्थ्यअनुसार कर्मचारीतन्त्रलाई प्रोत्साहन पनि गर्छौं,’ उनले भने।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयहरूबीच समन्वय, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा समेत अर्थमन्त्री वाग्लेले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्