images
images

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई निर्यातमुखी बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको उत्पादन, बजारीकरण र निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगलाई आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात विस्तारको महत्वपूर्ण आधारका रूपमा विकास गरिने बताए।

उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी जुत्ता–चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने, नेपाली उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने बताए।

छलफलका क्रममा एशोसिएसनका पदाधिकारीहरूले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरीपैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका स्वदेशी तथा विदेशी उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात रोक्न तथा आयातित उत्पादनमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री वातावरण उपलब्ध भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास पनि व्यक्त गरेका थिए।

छलफलमा एशोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्