images
images

कोशीमा जलप्रवाह बढेपछि उच्च सतर्कता, ब्यारेजका २० ढोका खोलिए

सप्तकोशी नदीमा जलप्रवाह उल्लेख्य रूपमा बढेपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले बिहीबार कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन्।

हाल कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। जलप्रवाह बढेसँगै ब्यारेजका २० वटा ढोका खोलिएको छ। कोशीमा जलप्रवाह प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था रहेको छ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना पूर्ण रूपमा कार्यान्वयनमा रहेको बताए। विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको र आवश्यक कार्यविधि पनि तयार गरिएको उनले जानकारी दिए।

उनले बर्खायाममा उद्धार, राहत, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको बताए।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मतसम्भार गरिसकिएको छ। ठूलो बाढीका कारण कतै कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको उनले बताए।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्