एजेन्सी । साविक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा शानदार पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरी फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। मोर्गन रोजर्सको उत्कृष्ट पासलाई गोर्डनले नजिकबाट गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेका थिए। इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले निको गोन्जालेजको शक्तिशाली प्रहार बचाएका थिए भने एलेक्सिस म्याक एलिस्टरको हेड पोस्टमा लागेको थियो।
खेल इङ्ग्ल्यान्डको पक्षमा गएको जस्तो देखिए पनि अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा खेलको नतिजा उल्ट्यायो। ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा इन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेस्सीकै पासमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।
यससँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। अब उसले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ।
यता, १९६६ पछि पहिलो पटक पुरुष विश्वकप फाइनल पुग्ने इङ्ग्ल्यान्डको सपना फेरि अधुरै रह्यो। प्रशिक्षक थोमस टुचेलको टोलीले अब तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्