काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको पर्यटन क्षेत्रलाई तीव्र गतिमा अघि बढाउने काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकासको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै पर्यटन क्षेत्रको विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए।
उनले व्यवसायीलाई कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यका सम्भावना अध्ययन गर्न आग्रह गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा होटल संघ नेपालका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका थिए। हाल वार्षिक करिब १२ लाख पर्यटक मात्रै नेपाल आउने गरेको उल्लेख गर्दै उनीहरूले पर्यटक संख्या बढे रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने र वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सकिने बताए।
व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र सीमापार पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मको वातावरणीय अध्ययनको सीमा बढाएर ५० शय्यासम्म कायम गर्न तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
उनीहरूले नेपाल एयरलाइन्सको सेवा सुधार, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका केही प्रावधान संशोधन, होटल व्यवसायसँग सम्बन्धित कानुन पुनरावलोकन, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउने तथा आरोग्य पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी प्रचार–प्रसारको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।
छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठलगायत पदाधिकारी तथा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो।











प्रतिक्रिया दिनुहोस्