images
images

मिडिया हाउसका कार्यालयअगाडि कसले राख्यो शंकास्पद गाडी ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न मिडिया हाउसका कार्यालयअगाडि बेवारिसे अवस्थामा निजी गाडी पार्क गरिएको भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

कार्यालय प्रवेशमै अवरोध हुने गरी कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, बाह्रखरीलगायत सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी छाडिएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उपत्यकाका पाँचदेखि सात वटा मिडिया हाउसबाट यस्तै प्रकृतिका गाडीबारे जानकारी आएको छ।

‘तीनकुनेस्थित कान्तिपुर, नयाँ बानेश्वरस्थित अनलाइनखबर तथा अन्य स्थानका मिडिया हाउसअगाडि बेवारिसे अवस्थामा निजी गाडी रोकिएको सूचना आएको छ। ट्राफिक प्रहरीसँग समन्वय गरेर गाडी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेका छौं,’ उनले बताए।

हालसम्म ती गाडी कसले, किन र के उद्देश्यले मिडिया हाउसअगाडि छाडेको भन्ने खुलेको छैन। प्रहरीले गाडीको मालिकको पहिचानसहित घटनाको वास्तविक कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

यस घटनालाई हालै सुकुम्बासी होल्डिङ सेन्टरको व्यवस्थापन र गणेश नेपालीको आत्मदाहपछि भएको निधनबारे विभिन्न सञ्चारमाध्यमले प्रकाशित समाचारसँग जोडेर पनि चर्चा गरिएको छ। यद्यपि, यस्तो उद्देश्यले नै गाडी राखिएको भन्ने कुनै आधिकारिक पुष्टि भइसकेको छैन र प्रहरीले सबै सम्भावित पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्