images
images

अस्पतालबाट माजिद अन्सारीको अपिल– ‘मेरो जीवन रक्षा गरियोस्, पक्राउको कारण सार्वजनिक गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी कुटपिट गरेको आरोप लगाउँदै आफ्नो जीवन रक्षाको माग गरेका छन्।

शनिबार कीर्तिपुरबाट पक्राउ परेका अन्सारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। अस्पतालबाट सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै उनले पक्राउका क्रममा प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको दाबी गरेका छन्।

अन्सारीका अनुसार असार २७ गते साँझ करिब ५ बजे १०–१२ जना प्रहरी आएर आफूलाई नियन्त्रणमा लिँदा गम्भीर घाइते बनाएका थिए। हाल उपचार भइरहे पनि पक्राउको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको उनको भनाइ छ।

‘मलाई अहिलेसम्म पक्राउको कारणबारे जानकारी दिइएको छैन। पक्राउ पुर्जी पनि देखाइएको छैन, न त मेरो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले गृहमन्त्री र नेपाल प्रहरीका प्रमुखसँग आफ्नो पक्राउबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। साथै, आफूविरुद्ध किन गैरकानुनी कारबाही गरिएको हो भन्ने प्रश्न पनि उठाएका छन्।

अन्सारीले संघीय सांसदहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानवअधिकार समुदाय तथा मानवअधिकारकर्मीहरूलाई आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

प्रहरीले भने अन्सारी पक्राउको कारणबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्