काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याएको छ।
शुक्रबार झापाबाट काठमाडौं आएका प्रसाईं विमानस्थलमै समर्थकहरूबीच कार्यक्रम गर्न लागेको जानकारी पाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै पनि प्रकारका सार्वजनिक कार्यक्रम गर्न नपाइने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले प्रसाईंलाई औपचारिक रूपमा पक्राउ नगरी विमानस्थलबाट सिधै भक्तपुरस्थित निवाससम्म पुर्याएर छाडेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले प्रसाईं पक्राउ नपरेको स्पष्ट पार्दै उनी हाल आफ्नै घरमा रहेको जानकारी दिए।
‘हामीले पक्राउ गरेका होइनौं। विमानस्थलभित्र कार्यक्रम गर्न नपाइने भएकाले त्यहाँबाट हटाएर घरसम्म पुर्याएका हौँ। उहाँ अहिले आफ्नै घरमा हुनुहुन्छ,’ एसएसपी घिमिरेले भने।
यसअघि प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको थियो। तर प्रहरीले त्यसलाई पक्राउ नभई सुरक्षा र सार्वजनिक व्यवस्थापनका लागि गरिएको हस्तक्षेप भएको स्पष्ट पारेको छ।
प्रहरीका अनुसार विमानस्थल संवेदनशील तथा निषेधित क्षेत्र भएकाले त्यहाँ सभा, प्रदर्शन वा सार्वजनिक कार्यक्रम गर्न कानुनी रूपमा अनुमति छैन। सोही व्यवस्थाअनुसार प्रसाईंलाई कार्यक्रम गर्न नदिई विमानस्थलबाट बाहिर निकालिएको हो।














प्रतिक्रिया दिनुहोस्