काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले कीर्तिपुरमा बाढीका कारण विस्थापित भएर जेब्रा झोला बोकेर हिँडिरहेका एक बालकलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
अविरल वर्षापछि बागमती नदीमा आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट विस्थापित भएका ती बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत सहयोगको प्रतिबद्धता जनाएका हुन्।
उनले बालकको तस्बिर साझा गर्दै झोलाभित्र किताब, लुगा वा चामल मात्र नभई देश बनाउने सपना पनि हुन सक्ने उल्लेख गरेका छन्।
साम्पाङले आफू धरान उपमहानगरपालिकाको मेयर हुँदा सुकुम्वासी बस्तीमा घर नम्बर वितरण, ढल निर्माण तथा आवास मर्मतका लागि बजेट विनियोजन गरेको स्मरण गर्दै वर्तमान सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीलाई थप समस्यामा पारेको आरोपसमेत लगाएका छन्।
उनले ती बालकको पहिचान गरी शिक्षा वा तत्काल राहतका लागि आफ्नै व्यक्तिगत खर्चबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। साथै, पीडित बालक र बाढी प्रभावित परिवारहरूको सहयोगमा जुट्न सबै नेपालीलाई अपिल गरेका छन्।
“यो देश बचाउने हो भने यस्ता बालबालिकाको भविष्य बचाउनुपर्छ। यो बालकलाई जोगाऔँ, बचाऔँ। त्यो झोलाभित्र देश बनाउने सपना पनि हुन सक्छ,” साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।














प्रतिक्रिया दिनुहोस्