images
images

गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयास र उपचारका क्रममा भएको निधनबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई बोल्ने समय दिएका थिए।

सांसद थापाले गणेश नेपालीको आत्मदाह प्रयासपछि पनि सरकार मौन बसेको भन्दै प्रश्न उठाइन्। उनले केवल बसको रङ परिवर्तन गरेर नागरिकको सुरक्षा सुनिश्चित नहुने उल्लेख गर्दै सुकुमवासीलाई समेत निराश र जोखिमपूर्ण अवस्थातर्फ धकेलिएको आरोप लगाइन्।

सांसद भूमिका लिम्बू सुब्बाले मोटरसाइकल पार्किङको विषयमा १० हजार रुपैयाँ जरिवाना गरिएकै कारण गणेश नेपालीले आत्मदाहको प्रयास गरेको दाबी गर्दै नागरिकलाई यस्तो अवस्थामा पुग्न बाध्य बनाउने वातावरणप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।

यस्तै, सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्। सांसद राधिका रम्तेलले पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरिन्।

सांसद ज्ञानबहादुर शाहीले गरिब र विपन्न नागरिकका लागि राजधानीमा बाँच्नसमेत कठिन बन्दै गएको टिप्पणी गरे। उनले राज्यका सुविधा सीमित वर्गमा केन्द्रित भएको आरोप लगाउँदै नागरिकले उच्च कर तिरे पनि अपेक्षित सेवा नपाएको बताए।

प्रतिक्रिया दिनुहोस्