काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारका क्रममा उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएपछि वीर अस्पतालमा निधन भएको हो।
नेपालीले बिहीबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। अनुहार, घाँटी, छाती तथा श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उनलाई भेन्टिलेटरमा राखेर ‘बर्न आइसियु’मा उपचार गरिएको थियो।
उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय चिकित्सक टोली परिचालन गरिएको थियो। बिरामीको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था अत्यन्त अस्थिर रहेकाले स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको थियो।
चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद नेपालीको उपचारकै क्रममा निधन भएको हो। प्रहरीले उनले आत्मदाहको प्रयास गर्नुको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्