काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास र लगानीमैत्री वातावरण निर्माणका लागि सरकार सकारात्मक रहेको बताएका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विस्तारको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले निर्माण व्यवसायलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
छलफलका क्रममा निर्माण व्यवसायीहरूले भुक्तानीमा हुने ढिलाइ, ठेक्का व्यवस्थापन, म्याद थप, मूल्य समायोजन, बैंकिङ पहुँच, लगानी वातावरण तथा आयोजना कार्यान्वयनमा देखिएका व्यावहारिक समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन नीतिगत सुधार र सरकार–निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा पनि राखे।
बैठकमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र र प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि छलफलमा उपस्थित थिए।










प्रतिक्रिया दिनुहोस्