images
images

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसदमा निरन्तर विरोध

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बुधबार पनि जारी रह्यो। प्रमुख प्रतिपक्षसहित विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने र विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याए।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा लगातार विरोध भइरहेकाले विपक्षीका तर्फबाट एक जनालाई प्रारम्भिक धारणा राख्न समय दिएका थिए। त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुखले सबै विपक्षी दललाई आफ्नो धारणा राख्ने अवसर दिए।

नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले प्रधानमन्त्रीले गत जेठ १७ गते संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले सदनमै आएर स्पष्ट जवाफ दिनुपर्ने र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरिन्।

नेकपा (एमाले)की यशुदाकुमारी बरालले विपक्षीले बारम्बार उठाएको विषयलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन्। एमालेकै भीमकुमार बुढामगरले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताए।

यस्तै, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले यस विषयमा सत्तापक्षले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन्।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा जारी विवाद अझै समाधान हुन नसक्दा प्रतिनिधिसभामा राजनीतिक तनाव कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्