काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को विवादास्पद हार बेहोरेपछि इजिप्ट फुटबल संघ (ईएफए)ले फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। इजिप्टले खेलका रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको टोलीले पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाउँदै उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको हो।
एटलान्टामा भएको खेलमा रेफ्रीले दोहोरो मापदण्ड अपनाएको इजिप्टको आरोप छ। इजिप्टले सबैभन्दा बढी आपत्ति आफ्नो टोली १–० ले अघि रहेका बेला मोस्तफा जिकोले गरेको गोल भिएआरमार्फत रद्द गरिएको घटनामा जनाएको छ। रेफ्रीले त्यसअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको ठहर गर्दै गोल अमान्य घोषित गरेका थिए।
त्यसैगरी खेलको इन्जुरी समयमा मोहम्मद सलाह अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा लड्दा पनि रेफ्रीले पेनाल्टी नदिएको भन्दै इजिप्ट असन्तुष्ट छ। इजिप्टको दाबीअनुसार सोही आक्रमणपछि अर्जेन्टिनाले काउन्टर अट्याकमार्फत निर्णायक गोल गर्दै ३–२ को जित निकालेको थियो।
इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबु रिदाले रेफ्री टोलीविरुद्ध फिफामा उजुरी दर्ता गर्दै उक्त निर्णयलाई इजिप्टविरुद्धको भेदभावपूर्ण व्यवहारको संज्ञा दिएका छन्। संघले रेफ्रीले केही महत्त्वपूर्ण भिडियो फुटेजसमेत हेर्न अस्वीकार गरेको आरोप लगाएको छ।
खेलपछि प्रशिक्षक होसाम हसनले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै विश्व च्याम्पियन अर्जेन्टिना र कप्तान लियोनेल मेसीलाई प्रतियोगितामा अघि बढाउने उद्देश्य देखिएको टिप्पणी गरेका थिए। यस्तै, फरवार्ड मोस्तफा जिकोले प्रतियोगितामाथि नै प्रश्न उठाउँदै खेल “फिक्स” भएको आरोपसमेत लगाएका छन्।
यद्यपि, फुटबल विश्लेषकहरूका अनुसार रेफ्रीको निर्णयविरुद्ध दर्ता गरिएका यस्ता उजुरीबाट खेलको नतिजा परिवर्तन हुने सम्भावना अत्यन्त न्यून हुन्छ। फिफाले पनि यस्ता उजुरीमा सामान्यतया रेफ्रीको निर्णयलाई अन्तिम मान्ने अभ्यास गर्दै आएको छ।
यसबीच अर्जेन्टिना भने क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ, जहाँ उसले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्ट भने विवादित निर्णयप्रति असन्तुष्टि जनाउँदै विश्वकपबाट बाहिरिएको छ।











प्रतिक्रिया दिनुहोस्