काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेकपा (एमाले)का सांसद राजेन्द्र राईले संसद बैठकमा दिएको विवादास्पद अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै “सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि हुन्न?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीपछि संसदमा पक्ष–विपक्षबीच तीव्र विवाद भएको थियो भने बैठक १५ मिनेटका लागि स्थगितसमेत गरिएको थियो।
बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले उक्त अभिव्यक्ति प्रतिनिधिसभाको मर्यादा र नियमावलीअनुकूल नभएको उल्लेख गर्दै संसदको आधिकारिक अभिलेख (रेकर्ड)बाट हटाउन निर्देशन दिएका हुन्।
यसअघि उक्त अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षी सांसदबीच चर्को बहस भएको थियो। रास्वपाकी सांसद टीका संग्रौलालगायत सांसदहरूले पनि विवादास्पद भनाइ अभिलेखबाट हटाउन माग गरेका थिए।












प्रतिक्रिया दिनुहोस्