images
images

प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि जेल चलान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उनको परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अपमानजनक तथा अश्लील सामग्री पोस्ट गरेको आरोप लागेका युट्युबर रोशन पोखरेललाई पाँचथर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते भएको सुनुवाइपछि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान र प्रमाणको अवस्थालाई आधार मान्दै पोखरेललाई कारागार चलान गर्न आदेश दिएको हो।

पोखरेलविरुद्ध फेसबुक, टिकटक र इन्स्टाग्राममार्फत प्रधानमन्त्री तथा उनको परिवारको मान–प्रतिष्ठामा आँच पुग्ने गरी गालीगलौज, अपमानजनक तथा अश्लील सामग्री सार्वजनिक गरेको आरोपमा साइबर अपराधको मुद्दा दायर भएको थियो। उनी गत चैत २६ गते पक्राउ परेका थिए।

अदालतका अनुसार ‘हदेस जङ्गल’ नामका सामाजिक सञ्जाल खाताबाट प्रधानमन्त्री र उनको परिवारलाई लक्षित गरी आपत्तिजनक भिडियो, स्टाटस र अभिव्यक्तिहरू सार्वजनिक गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले ती सामग्री पोस्ट गर्न प्रयोग गरिएको मोबाइल फोन, सिम कार्ड, पिन कार्ड र पेन ड्राइभ बरामद गरी अदालतमा पेश गरेको थियो।

बयानका क्रममा पोखरेलले विवादित सामग्री आफूले नै सार्वजनिक गरेको स्वीकार गरेका थिए। उनले कसैलाई हानि पुर्‍याउने उद्देश्य नभई सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्युज बढाउने उद्देश्यले त्यस्ता सामग्री पोस्ट गरेको बताएका थिए।

तर अदालतले डिजिटल प्रमाण, सामाजिक सञ्जालमा सार्वजनिक सामग्री र अन्य प्रमाणका आधारमा उनीमाथिको आरोप गम्भीर देखिएको निष्कर्ष निकाल्दै हालका लागि थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्