images
images

मेसीलाई पछि पार्दै एम्बाप्पे ‘गोल्डेन बुट’को शीर्षस्थानमा

काठमाडौं । फिफा विश्वकप २०२६ को ‘गोल्डेन बुट’को प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। फ्रान्सका कप्तान किलियन एम्बाप्पे असिस्टको आधारमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन्।

हालसम्म दुवै खेलाडीले समान ७–७ गोल गरेका छन्। तर एम्बाप्पेले दुई असिस्ट गरेका कारण उनी गोल्डेन बुटको दौडमा मेसीभन्दा अगाडि छन्। मेसीले भने जारी प्रतियोगितामा अहिलेसम्म कुनै असिस्ट गर्न सकेका छैनन्।

पाराग्वेविरुद्धको प्रि–क्वार्टरफाइनलमा एम्बाप्पेले गरेको एकमात्र गोलको मद्दतमा फ्रान्स १–० को जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको थियो। यही गोलले उनलाई गोल्डेन बुटको दौडमा अग्रता दिलाएको हो।

२७ वर्षीय एम्बाप्पेले यसअघि स्विडेनविरुद्ध दुई गोल गर्दै फ्रान्सलाई अन्तिम १६ मा पुर्‍याएका थिए। समूह चरणमा उनले सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरेका थिए। पाँच खेलमा उनले ७ गोलसँगै २ असिस्ट पनि गरिसकेका छन्।

यता ३९ वर्षीय मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिकसहित ३ गोल, अस्ट्रियाविरुद्ध २ गोल, जोर्डनविरुद्ध १ गोल र केप भर्डेविरुद्ध १ गोल गर्दै आफ्नो गोल संख्या ७ पुर्‍याएका छन्।

विश्वकप इतिहासमा मेसीले हालसम्म २० गोल गरेका छन् भने एम्बाप्पेको कुल गोल संख्या १९ पुगेको छ। अर्थात्, विश्वकपमा सर्वाधिक गोल गर्ने मेसीको कीर्तिमान बराबरी गर्न एम्बाप्पेलाई अब केवल एक गोल आवश्यक छ।

सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पेले सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ जितेका थिए। यसपटक पनि उनी लगातार दोस्रो पटक उक्त अवार्ड जित्ने दाबेदारका रूपमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्