काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको दाबी गरेका छन्।
नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारी हस्तक्षेपले नकारात्मक असर पारेको भन्दै त्यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याए। उनले पार्टीसँग आबद्ध खेलकुदकर्मीलाई पनि खेल क्षेत्रमा अनावश्यक हस्तक्षेप हुन नदिन सक्रिय हुन निर्देशन दिए।
एन्फामाथि लागेको फिफाको प्रतिबन्धलाई लिएर खेलाडी र खेलकर्मीको मनोबल कमजोर नबनाउन आग्रह गर्दै उनले प्रतिबन्ध हटाएर नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा काम गर्नुपर्ने बताए।
ओलीले खेलकुद क्षेत्रको विकास टुप्पोबाट होइन, आधारभूत तहबाट गर्नुपर्ने उल्लेख गर्दै सरकारको प्राथमिकतामा खेलकुद पर्नुपर्ने धारणा राखे। नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सके त्यसले देशको प्रतिष्ठा बढाउने उनको भनाइ थियो।
उनले आफ्नो नेतृत्वको सरकारले खेलकुद पूर्वाधार र क्षेत्रको विकासका लागि महत्वपूर्ण काम गरेको दाबी समेत गरे।














प्रतिक्रिया दिनुहोस्