काठमाडौं । नेदरल्यान्ड्सको विश्वकप यात्रा फेरि एकपटक पेनाल्टी सुटआउटमै टुंगिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ प्रवेशका लागि भएको रोमाञ्चक खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको हो। यो लगातार तेस्रो विश्वकप हो, जहाँ नेदरल्यान्ड्सले पेनाल्टी सुटआउटमै हार बेहोरेको छ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सले ७२औँ मिनेटमा कोडी गाक्पोको गोलमार्फत अग्रता लिएको थियो। उनले क्राइसेन्सियो समरभिलको पासलाई सदुपयोग गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए।
तर, दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका इसा डिओपले चेम्सडाइन ताल्बीको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा सुरुआती प्रहारमा मोरक्को चुके पनि त्यसपछि पुनरागमन गर्दै ३–२ को जित निकाल्यो। निर्णायक क्षणमा नेदरल्यान्ड्सको अन्तिम प्रहार मोरक्कोका गोलकिपरले बचाएपछि मोरक्कोले अन्तिम पेनाल्टीलाई गोलमा परिणत गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
यससँगै मोरक्को नकआउट चरणमा प्रवेश गर्दा नेदरल्यान्ड्स भने फेरि एकपटक पेनाल्टी सुटआउटको पीडा बोकेर विश्वकपबाट बाहिरिएको छ।
यसअघि आजै भएको अर्को खेलमा पाराग्वेले जर्मनीलाई सडन डेथ पेनाल्टीमा ४–३ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्