चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि भएको पहिलो चरणको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिले मतगणना सुरु भइसकेको र करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ।
पहिलो चरणको निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये २१० जना खुलातर्फ र १७४ जना प्रदेशगत कोटाबाट प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन समितिका अनुसार पहिलो चरणको परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार दोस्रो चरणको मतदान दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।
प्रदेशगत कोटाअन्तर्गत सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। खुलातर्फ भने ६४ पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिमबाट १८, मधेसबाट २०, कोशीबाट २०, बागमतीबाट २७, गण्डकीबाट २७, लुम्बिनीबाट ३१ र कर्णालीबाट ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले निर्वाचन प्रक्रिया पार्टीभित्र चासो र प्रतिस्पर्धाको केन्द्र बनेको छ।











प्रतिक्रिया दिनुहोस्