images
images

नेपाली फुटबल संकटमा, फिफाको निलम्बनपछि अन्तर्राष्ट्रिय यात्रा राेक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाली फुटबलमाथि निलम्बनको कारबाही गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को गतिविधिमा तेस्रो पक्ष अर्थात् सरकारी हस्तक्षेप भएको निष्कर्ष निकाल्दै फिफाले यस्तो निर्णय गरेको हो।

विश्वकप फुटबल २०२६ को रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला आएको यो निर्णयले नेपाली फुटबललाई ठूलो झट्का लागेको छ। फिफाको निलम्बनसँगै नेपाली राष्ट्रिय टोली, उमेर समूहका टोली तथा नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन्।

एन्फाका महासचिव किरण राईले बिहीबार बिहान फिफाबाट निलम्बनसम्बन्धी औपचारिक जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार फिफाले एन्फाको आन्तरिक व्यवस्थापन र सञ्चालन प्रक्रियामा बाह्य हस्तक्षेप भएको भन्दै नेपाली फुटबललाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाको नियमअनुसार सदस्य राष्ट्रका फुटबल संघहरू स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्छ। सरकार वा अन्य कुनै तेस्रो पक्षले संघको निर्णय प्रक्रिया, नेतृत्व चयन वा प्रशासनिक कामकाजमा हस्तक्षेप गरेमा फिफाले कारबाही गर्न सक्छ।

निलम्बन कायम रहेसम्म नेपालले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका कुनै पनि आधिकारिक प्रतियोगितामा भाग लिन पाउने छैन। साथै फिफा तथा एएफसीबाट प्राप्त हुने प्राविधिक, विकास तथा आर्थिक सहयोगसमेत प्रभावित हुन सक्नेछ।

फिफाको यो निर्णयपछि नेपाली फुटबलको भविष्य र निलम्बन फुकुवाका लागि एन्फा तथा सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने देखिएको छ। निलम्बन कहिलेसम्म रहने भन्नेबारे फिफाले थप सर्तहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्