काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो विधानमा पहिलोपटक ‘वरिष्ठ नेता’ पद समावेश गर्ने भएको छ। आगामी महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमार्फत उक्त पदलाई वैधानिक मान्यता दिन सहमति जुटेको हो।
पार्टी सचिवालय बैठकले हालसम्म विधानमा व्यवस्था नभएको ‘वरिष्ठ नेता’ पदलाई औपचारिक रूपमा समेट्ने निर्णय गरेको जनाएको छ। रास्वपामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) वरिष्ठ नेताको भूमिकामा रहे पनि हालको विधानमा उक्त पदको व्यवस्था छैन।
रास्वपामा विलय हुँदा बालेनले पदाधिकारीको जिम्मेवारी लिन इच्छा नदेखाएपछि उनलाई सभापतिपछिको वरीयतामा रहने गरी वरिष्ठ नेताको भूमिकामा राखिएको थियो। अब सोही व्यवस्थालाई विधानमार्फत संस्थागत गर्न लागिएको हो।
पार्टी स्रोतका अनुसार ‘वरिष्ठ नेता’ पद सम्मानजनक र औपचारिक प्रकृतिको हुनेछ। यो पदका लागि निर्वाचन नहुने र मनोनयनको व्यवस्था गरिने प्रस्ताव गरिएको छ। सो पदमा बालेन शाहलाई नै निरन्तरता दिने समझदारी पार्टीभित्र पहिल्यै बनेको बताइएको छ।
यसैबीच, सचिवालय बैठकले पार्टी संरचनामा एक जना सहमहामन्त्री थप्ने निर्णय पनि गरेको छ। यसअघि चार जना सहमहामन्त्री रहने व्यवस्था रहेकामा अब पाँच जना रहनेछन्। नयाँ व्यवस्थाअनुसार सहमहामन्त्रीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्नेछ।
त्यस्तै, उपसभापति, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा पनि कम्तीमा एक महिला अनिवार्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस्