काठमाडौँ। प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि असार १ र २ गते छलफल हुने भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिनेछन्।
असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामाजिक सुरक्षासम्बन्धी मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
यस्तै असार २ गते विज्ञान तथा प्रविधि, कानुन, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।
छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ असार ३ र ४ गते सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो। बजेटमाथिको सामान्य छलफल प्रतिनिधिसभामा सम्पन्न भइसकेको छ भने अर्थमन्त्री स्वर्णिम वाग्ले ले त्यसको जवाफ पनि दिइसकेका छन्।












प्रतिक्रिया दिनुहोस्