काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषयलाई बेवास्ता गरिएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले परराष्ट्रमन्त्रीले भारत भ्रमणअघि सीमा विवादबारे बोल्ने संकेत गरे पनि औपचारिक भेटवार्ता र संयुक्त प्रेस नोटमा उक्त विषय समावेश नगरेको आरोप लगाइन्।
उनले नेपाली पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सीमा विवादसम्बन्धी कुनै उल्लेख नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। दिल्ली भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा सीमा विवादको विषय नउठाइएको उनको दाबी थियो।
ओलीले सीमा व्यवस्थापन र सीमा विवादलाई एउटै विषयका रूपमा प्रस्तुत गर्न नमिल्ने बताइन्। उनका अनुसार सरकारले सीमा विवादको मूल विषयलाई पन्छाएर जंगेपिलर व्यवस्थापन, सीमा बैठक तथा नियमित प्रशासनिक प्रक्रियालाई मात्र प्राथमिकता दिएको छ।
“सीमा व्यवस्थापन र सीमा विवाद फरक–फरक विषय हुन्। विगत चार वर्षदेखि नेपालले जारी गर्ने प्रेस नोटमा कुनै न कुनै रूपमा सीमा सम्बन्धी विषय समावेश हुने गरेको थियो। तर यसपटक पहिलोपटक सीमा विवादको मुद्दा प्रेस नोटबाटै गायब भएको छ,” उनले भनिन्।
ओलीले परराष्ट्रमन्त्री खनालको आगामी चीन भ्रमणलाई समेत उल्लेख गर्दै नेपालका राष्ट्रिय हितसँग जोडिएका लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्बन्धी विषयलाई स्पष्ट रूपमा उठाउन सुझाव दिइन्। उनले नेपालको दाबी भएका भूभागबारे सरकारको धारणा अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट र दृढ रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिइन्।
उनको अभिव्यक्तिपछि संसदमा सीमा विवाद, कूटनीतिक प्राथमिकता र सरकारको विदेश नीतिबारे थप बहसको विषय बनेको छ।












प्रतिक्रिया दिनुहोस्